७. सहरी जनसङ्ख्या व्यवस्थापन कसरी गर्न सकिएला ? चर्चा गर्नुहोस् ।
सडक, विद्युत््, खानेपानी, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार भएको साधन र सुविधासम्पन्न क्षेत्र सहर हो । यही सहरको विस्तार हुने कार्य सहरीकरण हो । सहरमा विभिन्न सेवा सुविधा हुने, रोजगारी पाइनेजस्ता कारणले सहरमा जनसङ्ख्या स्वभावतः बढी नै हुन्छ । त्यसैले गाउँका मानिसलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेर सहरमा जनसङ्ख्या बढी हुन नदिनु सहरमा जनसङ्ख्या व्यवस्थापन गर्ने सबैभन्दा उत्कृष्ट उपाय हो । यसका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ ः– सरकारी सेवा सुविधाहरू गाउँसम्म सहज रूपमा उपलब्ध गराउने,
– गाउँगाउँमा उद्योग, कलकारखानाहरू स्थापना हुने वातावरण तयार गर्ने,
– सडक सञ्जाललाई गाउँगाउँसम्म विस्तार गर्ने, कच्ची सडक पिच गर्ने,
– गाउँमा प्रयोग गर्ने घरायसी विद्युत्को शुल्क निःशुल्क गर्ने,
– सरकारी विद्यालय तथा ग्रामीण बस्तीहरूमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने,
– गाउँका कृषकका आवश्यकता पूरा गर्ने, मल, बीउ, कृषि शिक्षा, तालिम, पुँजी, कृषि औजार उपलब्ध गराउने,
– व्यावसायिक कृषि प्रणालीको विकास गर्ने, यसलाई ग्रामीण पर्यटनसँग आबद्ध गर्ने, गाउँगाउँमा होमस्टे विकास गरी गाउँको अर्गानिक कृषि उपजको प्रवद्र्धन गर्ने,
– गाउँमा लगानीको वातावरण तयार गर्ने,
– सरकारी तथा निजी विद्यालय, क्याम्पस गाउँमा स्थापना गर्न जोड दिने,
– सामुदायिक विद्यालय, सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण गरी गुुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूति प्रदान गर्ने,
– बैङ्क तथा वित्तीय संस्थाका ग्रामीण तहसम्म शाखा विस्तार गर्ने, यस्ता शाखा र सहकारी संस्थाहरूमार्फत पुँजी परिचालन बढाउने,
– गाउँलाई सहरसँग आबद्ध गर्ने, गाउँका कृषि उत्पादन सहरमा बिक्री गर्ने, कृषि उपजमा गाउँलाई आत्मनिर्भर गराउने, तराईमा अन्नबाली, पहाडमा फलफूल, हिमालमा जडीबुटीको विकास बढाउने,
– न्यूनतम सेवासुविधाको प्रत्याभूतिसहित गाउँ तथा सहरमा एकीकृत बस्ती विकासको अवधारणा लागू गर्ने,
– गाउँपालिका र नगरपालिकाबीच योजना, कार्यक्रम, बजेटमा अन्तरसम्बन्ध विकास गरी संयुक्त कार्यक्रम लागू गर्ने, विकासमा गाउँ सहरको साझेदारी प्रवद्र्धन गर्ने ।
0 Comments