२. मुलुकमा आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्याय कायम गर्न वित्त नीतिको भूमिकाबारे चर्चा गर्नुहोस् ।
मुलुकको अर्थतन्त्रलाई कर, सरकारी खर्च र ऋणको माध्यमबाट आवश्यकताअनुसार प्रभावित गर्ने नीति वित्त नीति हो । यो सार्वजनिक स्रोतसाधनहरूको परिचालन र बाँडफाँट गर्ने माध्यम हो । यो समष्टिगत आर्थिक नीतिको एक अभिन्न अङ्ग भएको, कार्यक्षेत्र र प्रभाव बृहत् भएकाले यसले अर्थव्यवस्थामा देखा पर्ने आर्थिक मन्दी र मूल्य वृद्धि सामना गर्न मद्दत गर्दछ । राजनीतिक र सामाजिक जगमा उभिएको यो नीतिले मुलुकमा आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्याय कायम गर्न निम्नअनुसारको भूमिका निर्वाह गर्दछ ः– लक्ष्यअनुरूप राजस्व परिचालन गरी आर्थिक वृद्धि हासिल गर्न उत्पादनशील क्षेत्रमा लगानी बढाउने,
– सार्वजनिक लगानीका सार्वजनिक तथा निजी क्षेत्रको साधनस्रोत जुटाउने,
– निकासीमा कर छुट दिएर निकासी बढाउने,
– दुर्गम क्षेत्रमा उद्योग स्थापना गर्न प्रोत्सान गर्ने, कर छुट, सहुलियत, सुविधा प्रदान गर्ने,
– बढी रोजगारी दिने उद्योग व्यवसायलाई सुविधा दिएर वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउने,
– प्रगतिशील कर प्रणाली अवलम्बन गर्ने, बढी आय हुनेलाई बढी कर लगाएर उठेको रकम गरिबी निवारण कार्यमा खर्च गर्ने, सामाजिक न्याय कायम गर्ने,
– भन्सार महसुल, अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण गर्ने,
– न्यून दरमा करको दायरा विस्तार गर्ने,
– करका दर, विनिमय दर, ब्याजदर, मुद्रास्फीति दरमा सकेसम्म स्थिरता ल्याउने, एकआपसमा अन्तरसम्बन्ध विकास गर्ने, आर्थिक स्थायित्वमा जोड दिने,
– सरकारी खर्चलाई पूर्वाधार निर्माण र उत्पादनशील क्षेत्रमा केन्द्रित गरी आर्थिक वृद्धि हासिल गर्ने,
– सन्तुलित बजेट कार्यान्वयन गरी आर्थिक स्थायित्व कायममा जोड दिने,
– शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा लगानी बढाउने, गरिबी निवारणमा ध्यान दिने,
– सामाजिक सुरक्षामा लगानी वृद्धि गर्ने, वृद्धभत्ता, पेन्सन, औषधि उपचार आदि क्षेत्रमा लगानी गरी सामाजिक संरक्षणको दायरा फराकिलो बनाउने,
– निजी क्षेत्र साधनविहीन नहुने गरी आन्तरिक ऋण परिचालन गर्ने,
– आन्तरिक ऋणभन्दा सहुलियतपूर्ण दीर्घकालीन विदेशी ऋण परिचालन गर्ने,
– नीतिगत, संस्थागत, प्रक्रियागत पक्षमा सुधार गर्दै स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने,
– वित्त नीति निर्माण र कार्यान्वयनमा निजी क्षेत्रको सहभागिता बढाई सार्वजनिक निजी क्षेत्रको साझेदारी सुदृढ गर्ने ।
0 Comments