३. अर्थतन्त्रमा बजेट घाटाको प्रभावबारे चर्चा गर्नुहोस् ।

  सरकारी खर्चको तुलनामा सरकारी आय कम भएको अवस्था बजेट घाटा हो । यो न्यून वित्तको अवस्था हो । यसलाई पूर्ति गर्न न्यून वित्त परिचालन गरिन्छ । बजेट घाटा प्रायः साधन–स्रोत कम भएका र विकासको आवश्यकता बढी भएका नेपालजस्ता देशहरूले अवलम्बन गर्दछन् । सन् १९३० मा विश्वमा आएको आर्थिक मन्दीको समस्या समाधान गर्न विकल्पका रूपमा बजेट घाटा अगाडि ल्याइएको हो । यसलाई जेएम किन्सले प्रतिपादन गरेका हुन् । नेपालमा यसलाई सरकारी बजेट प्रणालीको सुरुवात भएको साल विसं २००८ देखि नै अवलम्बन गरिँदै आइएको छ । बजेट घाटाको अवस्थामा नेपालमा सरकारले आन्तरिक तथा विदेशी ऋण परिचालन गरी न्यून वित्त पूर्ति गर्दै आएको छ । यसरी उठाएको ऋणबाट पनि खर्च जुटाउन नसकेको अवस्थामा नपुग रकम नगद मौज्दातबाट पूरा गर्ने गरेको छ ।

– बजेट घाटा पूर्ति गर्न आन्तरिक तथा विदेशी ऋण परिचालन गरिने हुँदा यसबाट अर्थतन्त्रमा निम्नानुसार प्रभाव पर्दछ ः
सकारात्मक प्रभाव
– छरिएर रहेको पुँजी एकीकृत रूपमा परिचालन हुने,
– उपयोगमा नआएको साधन परिचालन हुने,
– उत्पादनशील क्षेत्रमा लगानी विस्तार हुने,
– रोजगारी सिर्जना हुने,
– विदेशी पुँजी, प्रविधि एवम् सीपको प्राप्ति हुने,
– आर्थिक मन्दीको समस्या समाधानमा सहयोग पुग्ने,
– दैवीप्रकोपको सामना हुने,
– आन्तरिक बचत र लगानीबीचको खाडल पूरा हुने,
– भुक्तानी सन्तुलनमा सहयोग पुग्ने,
– सरकारले गर्ने र निजी क्षेत्रले गर्ने कार्यको सीमा निर्धारणमा सहयोग हुने,
– आर्थिक विकासमा सहयोग हुने ।
नकारात्मक प्रभाव
– बजेट घाटाले मुद्रा प्रदायकको मात्रा बढाउँदछ । मागको सिर्जना गर्दछ, मूल्यवृद्धि हुन्छ ।
– मागअनुसार आन्तरिक उत्पादन भएन भने आन्तरिक माग पूरा गर्न आयात बढ्दछ । निर्यात घट्दछ । यसबाट व्यापार घाटा झन् बढ्दछ ।
– व्यापार घाटा बढेर भुक्तानी सन्तुलनमा नकारात्मक प्रभाव पर्दछ । विदेशी विनिमय दरमा समेत प्रतिकूल प्रभाव पर्न सक्दछ ।
– सरकारले घाटा बजेटमार्फत आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्र साधनविहीन हुन सक्ने
– विदेशी ऋणको साँवा–ब्याज भुक्तानीको मात्रा बढ्दै जाने,
– मुलुकको आन्तरिक साधन परिचालन क्षमतामा ह्रास ल्याउन सक्ने,
– परनिर्भरता बढ्दै जाने ।

Post a Comment

0 Comments